बालाजु घटना छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालाजु घटना छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

उपत्यका प्रहरी कार्यालयमा कार्यरत डिआइजी मसाउद आलम खाँ को नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरी प्रवक्ता (डिआइजी) पोषराज पोखरेलले बताए ।

समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना छन् ।

समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको डिआइजी पोखरेलले जानकारी दिए ।

माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

फागुन १ मा भएको प्रदर्शनमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो ।

डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको आरोप छ । छानबिनका लागि उनलाई बालाजु वृत्तबाट हटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस