सीता एयरले टरिगाउँमा उडान गर्दै, यस्तो छ भाडादर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सीता एयरले टरिगाउँमा उडान गर्दै, यस्तो छ भाडादर


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान गर्ने भएको छ ।

सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने कम्पनीले जनाएको छ ।

योसँगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान गर्ने भएको छ । यसअघि नेपाल एयरलाइन्सले आइतबार, मङ्गलवार, बिहीबार र शनिबार उडान गर्ने गरेको थियो ।

अब शनिबार सीता एयर र नेपाल एयरलाइन्स दुवैले उडान गर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा आठ हजार र काठमाडौँबाट दाङ आउँदा आठ हजार एक सय भाडा तय भएको सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले बताए ।उनका अनुसार काठमाडौँबाट दिउँसो १२:१० बजे उडान गर्नेछ भने दाङबाट दिउँसो साढे एक बजे उडान गर्नेछ ।

माघ १३ गते टरिगाउँमा सीता एयरले परीक्षण उडान गरेको थियो । अहिले जहाज नियमित नहुँदा यात्रुहरूले पटक–पटक धोका पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए ।

हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ । तर, भाडा भने घट्न सकेको छैन ।

नेपाल एयरलाइन्सले दाङदेखि काठमाडौँको न्यूनतम आठ हजार आठ सय १० रुपैयाँ र काठमाडौँदेखि दाङको भाडा न्यूनतम नौ हजार १० रहेको छ ।

हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तारका लागि पहल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस