महानगरद्वारा ४३ जना शिक्षण सहजकर्ता र सहयोगी परिचालन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महानगरद्वारा ४३ जना शिक्षण सहजकर्ता र सहयोगी परिचालन


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ ।   

एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा विद्यालयमा पठाएको हो । त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ । यसका लागि कामपाले गत माघ ४ गते सार्वजनिक रूपमा विज्ञापन माग गरेको थियो ।  

उक्त विज्ञापनको आधारमा दरखास्त परेका मध्येबाट कामपाले १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।  

उनका अनुसार यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो ।  

शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृत स्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन् । 

सहजकर्ता अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच/पाँचजना आवश्यक भए पनि सोहीअनुसारको सङ्ख्या प्राप्त नभएको कामपाको भनाइ छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक रु ३७ हजार ५०० पारिश्रमिक उपलब्ध गराउने छ । 

त्यसैगरी शिक्षण सहयोगीका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक रु १५ हजार तोकिएको छ । 

हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस