गोङ्गबुमा मोबाइल लुट्ने ४ जना पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

गोङ्गबुमा मोबाइल लुट्ने ४ जना पक्राउ


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । गोङ्गबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा भएको आन्दोलनले उग्र रूप लिँदा तोडफोड र आगजनी भएको थियो । प्रहरी वृत्त, बालाजुको दुई वटा गाडी पनि तोडफोड भएको थियो । घटनालाई लिएर बालाजुका डिएसपी रविन विष्ट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएका छन् ।

मोबाइल पसलमा भएको चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आइजिपी) धिरज प्रताप सिंहलाई निर्देशन दिएको छ । उनको निर्देशन अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ ।

कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार प्राप्त भिडियो फुटेजहरूको आधारमा चोरीमा संलग्नहरूको खोजी कार्य जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस