बागमतीमा ७० अङ्क ल्याए ट्रायल पास « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमतीमा ७० अङ्क ल्याए ट्रायल पास


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणाली भोलि मङ्गलवारदेखि लागू हुँदै छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निर्देशनमा ७० अङ्क ल्याए पास हुने प्रणाली लागू गर्न लागिएको हो ।

यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्व सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि दबाबकै कारण रोकिएको थियो ।

पाण्डेको हस्तक्षेपका कारण तीन पटकसम्म रोकिएको ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारले कार्यान्वयन गर्न लागेको हो ।

यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारी चालक अनुमतिपत्र वितरण कार्यविधि ०७७’ जारी गरेको थियो । जसलाई अङ्कमा आधारित कार्यविधि पनि भनिन्छ । कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चार पाङ्ग्रे यातायातको ट्रायलमा ७० प्रतिशत अङ्क ल्याए पुग्छ । तर, उकालो र ओरालोमा भने शतप्रतिशत अङ्क ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ । अन्य नियममा भने अङ्क थपघट हुने भए पनि पास हुन सकिने नियम छ ।

ट्रायल पास हुन ७० अङ्क ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस