विजय जनताकै हुनेछ :विप्लव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विजय जनताकै हुनेछ :विप्लव


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वामपन्थी देशभक्त एक भएर दलाल पुँजीवादको अन्त्य गर्नुपर्ने बताएका छन् ।

२८ औँ जनयुद्ध दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व भएको दाबी गरेका छन् ।

‘जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्‍यो । किसान, मजदुर, महिला श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुस्लिम सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित गर्‍यो र एक स्तरको मुक्ति दिलायो । हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतिर अगाडि वदन चाहन्थ्यौँ तर भूमण्डलीकृत पुँजीवाद, दलाल पुँजीवाद र संशोधन वादा पहयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पुरा हुन पाएन’, विप्लवले भनेका छन् ।

त्यस्तै उनले देशले आज भयानक सङ्कटको सामना गर्नु परिरहेको भन्दै यसको मूल कारण जनताको हातमा सत्ता पुग्न नसक्नु अर्थात् वैज्ञानिक समाजवाद स्थापना हुन नसकेकाले हो भनेका छन् ।

‘देशको कंगालीकरण, नव औपनिवेशिक अवस्था र अराजकता अग्रगामी निकास पनि दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना गर्नु हो । तसर्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरू एक भएर देशलाई परिवर्तनतिर अगाडि बढाउन एकताबद्ध बनौँ’, महासचिव विप्लवको आहान छ ।

उनले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमार्फत देशलाई निकास दिन सकिने भन्दै सबै क्रान्तिकारीहरूलाई एकताबद्ध गर्दै विचार मिल्नेसँग एकता र मुद्दा मिल्नेसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन् ।

‘नेपाललाई दलाल पुँजीवादी सत्ता र भूमण्डलीकृत साम्राज्यवादको प्रभुत्व र उत्पीडनबाट मुक्त गराई छोडिने छ । पुँजीवादीहरूले जति नै षड्यन्त्र गरे पनि विजय जनताको नै हुने छ’, विप्लवको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस