‘राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ’


२९ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।

आइतबार पेरिसडाँडामा पार्टीका वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय वाग्मती प्रदेश समन्वय समितिको बैठकमा उनले सरकारको नेतृत्व पाउनु अवसर र चुनौतीको रूपमा रहेको बताए ।

“हामीले सरकारको नेतृत्व गरिरहेका छौँ, यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो । यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ । सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ,” प्रधानमन्त्रीले भने, “सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो । तपाईँहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला ।”

प्रचण्डले विश्वासको मत पाएपछि परिस्थिति फेरिएको भन्दै राष्ट्रिय एकताका निम्ति पहल गर्नुपर्ने बताए ।

“विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ । विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो । सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ,” उनले भने, “हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ । त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु ।”

उनले दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्नेसमेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस