रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र र ड्रोन आक्रमण, ६१ वटा क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र र ड्रोन आक्रमण, ६१ वटा क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी


२८ माघ २०७९, शनिबार


काठमाडौँ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा प्रभाव जमाउने उद्देश्यका साथ रुसले हवाई आक्रमण गरेको हो । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस–३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताएका छन् ।

रुसले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणको निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्त रुसको निशानामा परेका छन् । आफ्नो ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूको आरोप छ । युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलब्ध गराउन आग्रह गरेका छन् । साथै उहाँले युक्रेनलाई शीघ्र सङ्घको सदस्यता प्रदान गर्न अनुरोध पनि गरेका छन् ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् आउँदो २४ तारिखमा रुसले भीषण आक्रमण गर्ने अनुमान गरेको युक्रेनले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस