काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा ९९.२५ प्रतिशत विश्वासको मत आउनु आश्चर्यजनक नतिजा भएको उल्लेख गरेको छ ।
पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्ताबेजमा ३२ सिट भएको दललाई यति धेरै विश्वासको मत आउनु आश्चर्यजनक भएको उल्लेख गरेको हो ।
‘महत्त्वपूर्ण र हाम्रो लागि निकै सुखद कुरा त के हो भने सदनमा ३२ सिट भएको हाम्रो पार्टीको नेतृत्वले प्रधानमन्त्रीलाई विश्वासको मतका क्रममा ९९.२५ प्रतिशत मत प्राप्त भई नेपालको संसदीय इतिहासकै असाधारण र आश्चर्यजनक नतिजा आयो । संसदीय इतिहासको यो असाधारण सहमति हाम्रो पार्टी शान्ति प्रक्रिया, परिवर्तनका हरेक एजेन्डाका लागि न्याय र सम्मानको विषय हो, प्रचण्डको दस्ताबेजमा लेखिएको छ ।
दस्ताबेजमा प्रधानमन्त्री प्रचण्डले सरकारको समर्थनका दृष्टिले राष्ट्रिय सहमति देखिनु सुखद अवसर मात्र नभएर ठुला पार्टीहरूबीचको आपसी अन्तरद्वन्द्वले सरकार सञ्चालनका लागि गम्भीर चुनौतीहरू रहेकोमा आफू सजग भएको पनि उल्लेख गरेका छन् ।