सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री श्रेष्ठ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री श्रेष्ठ


२५ माघ २०७९, बुधबार


काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन् ।

आज महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित आधारशीला (कम्युन) को २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यो प्राथमिकता देखिने, बुझिने गरी प्राप्त गर्न सरकारले नीतिगत पूर्वाधार विकासको नीति अख्तियार गरेको उल्लेख गरे ।

‘विकास, समृद्धि र सुशासन प्रवर्द्धन लहडको कुरा होइन, तसर्थ सरकार स्पष्ट नीति अख्तियार गरेर यी क्षेत्रका उपलब्धि हात पार्न प्रयत्नशील छ’, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने । आमरूपमा राजनीति क्षेत्रमा वैचारिक आन्दोलन स्खलित हुँदै गएर समाज रूपान्तरणको आन्दोलन भुत्ते भएको गुनासो बढेका बेला अहिले ठोस उपलब्धि हासिल गर्ने काम कुरालाई चुनौतीका रूपमा लिँदै सरकार अघि बढेको श्रेष्ठको भनाइ छ ।

गौरीडाँडास्थित आधारशिलाका प्रमुख संरक्षक रहेका श्रेष्ठले २० वर्षअघि ‘सामाजिक रूपान्तरणका लागि सामूहिक अभ्यास’ को बाटो अवलम्बन गर्ने ध्येयका साथ कम्युन (आधारशीला) स्थापना गरिएको स्मरण गरे ।

आधारशिलाले मुख्यतः यही वैचारिक फाँटको काम हेरिदेओस् भन्ने आफ्नो अपेक्षा रहेको श्रेष्ठले उल्लेख गरे ।

अहिले पूर्वमन्त्री गिरिराजमणि पोखरेलसहित १६ परिवार एकसाथ बसोबास गरिरहेका कम्युन (आधारशीला) मा प्रवेशकै लागि क्रान्तिनिष्ठ हुनुपर्ने, निजी सम्पत्ति त्याग गर्न सक्ने, मार्क्सवादी शिक्षाको प्रसारका लागि वैचारिक काममा सङ्गठित जिम्मेवारी लिने, सामूहिक श्रम गर्न उद्यत हुने र आचरण तथा चरित्रमा समाजवादी संस्कृतिलाई आत्मसाथ गर्न सक्ने प्रारम्भिक प्रतिबद्धता आवश्यक रहेको समारोहमा स्पष्ट पारिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस