माओवादीका दुई मन्त्रीले शपथ लिएसँगै मधेस सरकारले पायो पूर्णता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माओवादीका दुई मन्त्रीले शपथ लिएसँगै मधेस सरकारले पायो पूर्णता


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीका रूपमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् ।  उद्योगमन्त्री यादवलाई मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ दिलाएका हुन् । 

उद्योगमन्त्री यादव धनुषाबाट निर्वाचित समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा १ (१) बाट निर्वाचित सांसद हुन् । 

प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी दुईजना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मधेस प्रदेश सरकार १५ सदस्यीय रहेको छ । 

मुख्यमन्त्रीलाई समर्थन दिएका चार दल सरकारमा सहभागी भएपनि माओवादी केन्द्र सहभागी नभएपछि प्रदेश सरकारले पूर्णता पाएको थिएन । मन्त्री यादवले मैथिली र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिएका छन् । 

उनीहरूले प्रदेशमा मन्त्रीमण्डल बाँडफाँडको विषयमा असन्तुष्ट भएपनि पुरानै मन्त्रालयको मन्त्रीको रूपमा शपथ लिएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस