‘बजारको आवश्यकता अनुसार सुनचाँदी उपलब्ध गराउन प्रतिबद्ध छौँ’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘बजारको आवश्यकता अनुसार सुनचाँदी उपलब्ध गराउन प्रतिबद्ध छौँ’


२३ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए ।

भेटका क्रममा गभर्नर अधिकारीले व्यवसायीलाई बजारमा सुनचाँदीको विद्यमान अवस्था, माग र आपूर्ति व्यवस्था, सुनको वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङलगायत विषयमा जानकारी लिएका थिए । त्यस क्रममा उनले सुनको आयात, बिक्री वितरण प्रणाली, बैंकिङ कारोबार र त्यस क्रममा उत्पन्न हुने समस्या जस्ता विषयलाई आपसी छलफल र सर-सल्लाहका आधारमा सम्बन्धित निकायबाट नै निराकरण गर्न सकिने सुझाव दिए ।

त्यस अवसरमा व्यवसायीका तर्फबाट बजारको माग अनुसार कच्चा सुन तथा चाँदीको आयात गर्ने व्यवस्था गरिनुपर्ने, सुन वितरण प्रणालीलाई प्रादेशिक संरचना अनुरूप बदल्नु पर्ने, पान नम्बरका आधारमा सुन वितरण गर्ने व्यवस्था गरिनुपर्ने, नाकाबाट सुन उपलब्ध गराइनुपर्ने, एउटै बैंकको खाताबाट जुनसुकै बैंकको सुन खरिद तथा भुक्तानीको व्यवस्था मिलाइनुपर्ने लगायत माग राखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस