पोखरामा दुर्घटनाग्रस्त जहाजको फ्लाइट डाटा रेकर्डरको विश्लेषण तथा अनुसन्धान सम्पन्न « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोखरामा दुर्घटनाग्रस्त जहाजको फ्लाइट डाटा रेकर्डरको विश्लेषण तथा अनुसन्धान सम्पन्न


२३ माघ २०७९, सोमबार


काठमाडौँ । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एएनसी जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ । दुर्घटना जाँच आयोगका अनुसार जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ ।

एक एभियसन प्राविधिकका अनुसार यस्तो अवस्थामा जहाजमा अत्यधिक घर्षण उत्पन्न हुन्छ । जहाजलाई अगाडि हुत्त्याउने सामर्थ्य इन्जिनमा हुँदैन । त्यसबेला जहाज आकाशबाट कुनै गह्रौँ वस्तु खसे जसरी भुइँमा खस्ने गर्छ । यसरी जहाज दुर्घटनामा परेको आयोगले जनाएको छ । उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।

काठमाडौँबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टु’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेप्टी इन्भेष्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो । आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए । उनीहरू अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन् ।

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ । सो अवसरमा सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फलाइट र प्राविधिक पक्षको थप अध्ययन समेत भएको छ ।

आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्याङ्कको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारी समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस