उद्योग मन्त्रालयद्वारा तिलगंगा आँखा अस्पताललाई दुई करोड अनुदान  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उद्योग मन्त्रालयद्वारा तिलगंगा आँखा अस्पताललाई दुई करोड अनुदान 


२२ माघ २०७९, आइतबार


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तिलगंगा आँखा अस्पताललाई दुई करोड रुपैयाँ अनुदान  दिने सम्झौता भएको छ ।

मन्त्रालयमा आइतबार(आज) आयोजित एक कार्यक्रमकाबिच तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ र मन्त्रालयको तर्फबाट औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख सहसचिव बाबुराम गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मन्त्रालयको चालु आव ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम ‘तिलगंगा आँखा प्रतिष्ठानको इन्ट्राकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरणको लागि पक्की भवन निर्माण अनुदान’ का लागि रकम प्रदान गरिएको हो । 

मन्त्रालयका सचिव(उद्योग) डा. तोय नारायण ज्ञवालीले तिलगंगा आँखा अस्पतालले गर्दै आएका कामको प्रशंसा गर्दै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । रकम थोरै भए पनि सहकार्य महत्त्वपूर्ण विषय रहने बताउँदै सचिव डा. ज्ञवालीले विश्वमै चर्चा पाउनु अझ बढी खुसीको कुरा भएको बताए । उनले नेपालका दुर्गम क्षेत्रहरूमा पनि सेवा विस्तार गर्नसमेत सुझाए ।

प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले आफ्नो लागि यो रकम ठुलो भएको र सहकार्य गर्न पाउनु त्यो भन्दा महत्त्वपूर्ण रहेको बताइन् । सहयोगका लागि मन्त्रालयलाई धन्यवाद दिँदै नेपाल सरकारसँगको सहकार्य यो दोस्रो पटक भएको बताउँदै यसअघि पनि सरकारले सहयोग गरेको जानकारी लिइन् । लेन्स उत्पादनका लागि यसअघि १० करोड रुपैयाँ राज्यले प्रदान गरेको थियो । 

सो क्रममा प्रमुख कार्यकारी अधिकृत गुरुङले ३८ वटा नगरपालिकाहरूसँग सहकार्य गरेको जानकारीसमेत गराइन् । 

मानव स्वास्थ्यको सबैभन्दा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको आँखा उपचारमा तिलगंगाले पु¥याउँदै आएको योगदान सराहनीय र प्रशंसनीय रहेको मन्त्री दामोदर भण्डारीले बताए । आँखा उपचारमा विश्वस्तरीय सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री भण्डारीले आगामी दिनमा पनि सरकारको सहयोग निरन्तर रहने जनाए । 

कार्यक्रममा मन्त्रालयका सचिव(वाणिज्य) मधुकुमार मरासिनीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस