नयाँ सांसदहरूबाट जनताले खुसी पाएनन् : धनराज गुरुङ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नयाँ सांसदहरूबाट जनताले खुसी पाएनन् : धनराज गुरुङ


२२ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक सङ्कटतर्फ उन्मुख रहेको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेताहरू ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उनले अझै नेताहरू नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताए।

उनले आँखा अघि नै व्यवसायीहरूले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरू आफ्नै स्वार्थमा लागिपरेको बताएका हुन्। उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरू पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाए।

देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ। उनले संसद नीति निर्माण भन्दापनि घोचपेचमा नै सकिँदै गइरहेको बताएका हुन्।

‘मुलुक भयानक आर्थिक सङ्कटतर्फ उन्मुख छ। हामीले ठूला सपना मात्रै बाँडिरहेका छौँ। त्यो बाँड्दै गर्दापनि हाम्रै आँखा अघि व्यवसायीहरू धरापमा परेको देखिरहेका छौँ, आत्महत्या त धेरैले गरिसकेका छन्। आत्मदाह आफ्नै अघि गरिरहेका छन्, यसले पनि छुँदैन कि के हो, दिन दहाडै आत्मदाह भएको छ।’ उनले भने,’व्यवसायीमा कोलाहाल मच्चिरहेको छ, तैपनि सरकारमा बस्ने मन्त्रीहरू पुरानो गाडी भयो नयाँ गाडी पाउँ भनेर निवेदन गरिरहेको छ। हामी यस्तो विडम्बना भोगिरहेका छौँ। सपना बाँडेर, गफ गरेर मात्रै हुँदैन, संसद संसद नै हो, सार्वभौम जनताको सत्ता हो, यसमै घोचपेचका मात्रै कुरा हुन्छ। हामी नेताहरू गफ मात्रै गरिरहन्छौँ, काम गर्दैनौँ। देश अधोगतितिर उन्मुख छ।’

Tags :
प्रतिक्रिया दिनुहोस