लोक सेवा आयोगलाई चिठी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोगलाई चिठी 


२१ माघ २०७९, शनिबार


समायोजन पत्र

प्रिय श्री लोक सेवा आयोग नेपाल,

कमलपोखरी, काठमाडौं ।

अहँ, हामीलाई सन्चो छैन, आशा छ यहाँलाई पनि सन्चो छैन होला । करिब ३ वर्ष अगाडि यहाँले नै जन्माउनु भएका तर हुर्किन बाँकी स्थानीय तहमा कार्यरत सन्तानहरूले आज सम्मानित सर्वोच्च अदालतमा दायर गरेको अर्को रिट निवेदनको खबरले पक्कै पनि यहाँलाई दुःखी र बिरामी बनाएको होला । बिमार बिसेक हुन नपाएर अर्को बिमार आइलाग्दा अवश्य पनि विषाद र पीडा हुनु स्वाभाविकै हो ।

सरि ! हजुरको यो अवस्थाप्रति, शीघ्र स्वास्थ्य लाभको कामना ! तर हाम्रो व्यावसायिक जीवनको लाभको कामना कसले गर्छ ? थाहा छैन । यहाँले त पक्कै गर्नुहुन्छ होला, त्यसैले हामीसँग रिसाएता पनि हाँसी दिनुहोला, माया स्नेह र सदाशयता राखिदिनु होला, किनकि हामी त तल्लो तहको (स्थानीय तहको ) दोस्रो दर्जाको कर्मचारी ।

आजभन्दा ३ वर्ष अघि यहाँकै अनुकम्पाले हामीलाई राष्ट्रसेवक गर्ने मौका मिल्यो, उच्च मनोबलका साथ जननिकट रहेर राज्य प्रदत्त लाभ, सेवा तथा प्रतिफलहरू अहोरात्र जनतालाई प्रवाह गर्न लागिरह्यौ मात्र आशामा । यसै पेसामा रहेर संघीय निजामती सेवाको उच्च पदस्थ ओहदामा पुग्ने, एकीकृत संघीय निजामती सेवामा रही उत्साहित भई जनसेवा र राष्ट्रसेवक गर्ने, तर दुर्भाग्य न हाम्रो पेशाले सम्मान पायो न राज्यबाट हेरचाह नै ।

अहिले हामी को हौँ, कसका हौँ, कहाँका हौँ भेउ नै छैन । पेशागत दक्षता अभिवृद्धिको कुरा त एकादेशको कथा जस्तो पो लाग्छ, कल्पन्थ्यौँ स्टाफ कलेजमा आधारभूत प्रशासनिक प्रशिक्षण गर्न पाइए त अरूसँग प्रतिस्पर्धा गरी सबैभन्दा उत्कृष्ट बनौँला, खा खुदो भनेझैँ एक दिनको न भौतिक न भर्च्युल कुनै पनि तालिम नपाई कार्यस्थलमा घचेटियौँ ।

काम गर्दै पढौँला लोक सेवामा नाम निकाली अफिसर बनौँला सोच्थ्यौँ तर यहाँको उमेरको हदको लक्ष्मण रेखाले हामीलाई वञ्चितीकरणमा पार्दै थियो र पो हाम्रो मनमुटाब र झगडा अदालतमा पुग्यो ।

नत्र भने हजुरको मानहानि गर्ने हिम्मत हामी किन गर्थ्यौ र ? हाम्रो त्यत्रो दुस्साहस कहाँबाट आउँथ्यो र ? हामी त राज्यको विभेदको खिलाफमा उत्रेका मात्रै हो, हामीलाई अरु केही चाहिएन हजुरबाट मात्र न्यूनतम योग्यताले भ्याएको पदमा स्वस्थ प्रतिस्पर्धा गर्न पाइयोस् । अरु माग, समस्या र व्यवस्था त संघीय निजामती सेवा ऐन हाम्रो मातृ ऐन आउँदा सम्बोधन हुने अपेक्षा बोकेका छौँ । के हामीले योग्यता अनुसार हजुरले लिने जाँचमा प्रतिस्पर्धा गर्न समेत नपाउने हौँ र ?

३ वर्षमै यति अयोग्य त भएनौँ होला जस्तो लाग्छ, झन् हाम्रो उपस्थितिले त हजुरका जाँचहरू अझै झनै प्रतिस्पर्धी हुने हैनन् र, राज्यले झनै योग्य र अनुभवी राष्ट्रसेवक पाउने होला नि हैन र ? हजुरको आदर्श वाक्य नै छ त “योग्यता, निष्पक्षता र स्वच्छता” या यो वाक्य बिर्सी सक्नुभयो ? नबिर्सिनु होला बिर्सनु भयो भने हामीले सम्झाउन बाध्य हुनेछौँ हजुरलाई हजुरको विरुद्ध यस्तै रिट निवेदन हालेर ।

हाम्रा जस्तै सपना बोकेर लोक सेवा तयारी गरी रहनु भएका आकाङ्क्षी साथीहरू कृपया हाम्रो लडाइँलाई अन्यथा नठानिदिनुहुन अनुरोध छ । लोक सेवाका आसन्न जाँचहरू सार्ने पर धकेल्ने नियत हामीले कदापि किमार्थ राखेका छैनौँ, बस् कुरा हो हामीमाथिको विभेद, अन्याय र हेपाहा प्रवृत्तिको जराधार सहितको अन्त्यको । यहाँहरूको श्रम, धन, तप र लक्ष्यको सम्मान गर्दै सफलताको शुभकामना सहित हामीहरूलाई नि यथाशीघ्र न्याय मिलोस् कामना !

अन्त्यमा प्रिय लोक सेवा, छोटो मिठो पत्र लेख्न खोजेका थियौँ भावनात्मक भएर पत्र लामो हुन पुग्यो क्षमा प्रार्थी छौँ । हजुरलाई त भ्याई नभ्याई होला यहाँको काममा । त्यसैमा हाम्रो आजको नयाँ रिटले तर्सायो होला, ठिकै छ हाम्रो कुराले पक्कै पनि हजुरको मन दुखेको छैन होला भूलवश मनमा ठेस लागेको भए पुनः क्षमा प्रार्थी भन्दै न्याय नमिले सम्म पत्राचार गर्ने वाचा सहित बिदा हुन्छौँ । बाई बाई । सी यु सुन ।

उही हजुरको शुभचिन्तक प्रतिवादी

१. रिट नं. 079-WO- 0697

२. रिट नं. 079-WO-0791 का सम्पूर्ण निवेदकहरू ।

प्रतिक्रिया दिनुहोस