जापानी प्रधानमन्त्रीद्वारा आफ्ना वरिष्ठ सहयोगी बर्खास्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जापानी प्रधानमन्त्रीद्वारा आफ्ना वरिष्ठ सहयोगी बर्खास्त


२१ माघ २०७९, शनिबार


एजेन्सी । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसङ्ख्यक विरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् ।

प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसङ्ख्यकहरूविरुद्ध भेदभावपूर्ण टिप्पणी गरेको भन्दै आफ्ना सचिव मासायोशी अराइलाई बर्खास्त गरेको बताएका हुन् ।

समलिङ्गी विवाहलाई वैधानिकता दिने विषयमा अराइले हालै व्यक्त गरेको टिप्पणीलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै प्रधानमन्त्री किशिदाले सरकारको नीतिसँग पूर्णतया विरोधाभासपूर्ण र अक्षम्य अभिव्यक्ति दिएकाले उनलाई बर्खास्त गरिएको पत्रकारहरूले बताएका छन् । साथै उनले अराइको उत्तराधिकारी पनि चयन भइसकेको जानकारी समेत दिए ।

प्रधानमन्त्रीको कार्यकारी सचिवको रूपमा कार्यरत अराइले अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले यौनिक अल्पसङ्ख्यक जोडीलाई हेर्न मन नलाग्ने र उनीहरूप्रति आफूलाई घृणा लागेको पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा बताएका थिए ।

उनले जापान समलिङ्गी विवाहको विपक्षमा हुनुपर्ने टिप्पणी पनि गरेका थिए । उनका टिप्पणी सञ्चारमाध्यममा सार्वजनिक भएपछि शुक्रबार उनले क्षमा याचना गर्दै आफ्ना भनाइले प्रधानमन्त्रीको धारणा प्रतिबिम्बित नगर्ने स्पष्ट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस