संसदमा तोडफोड गरे सांसदले क्षतिपूर्ति तिर्नुपर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसदमा तोडफोड गरे सांसदले क्षतिपूर्ति तिर्नुपर्ने


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । सांसदहरूले संसदमा कुनै सामान तोडफोड गरेमा आफैँले क्षतिपूर्ति तिनुपर्ने भएको छ ।

१० माघमा गठित नियमावली मस्यौदा समिति प्रतिनिधिसभाको नियमावली परिमार्जनमा केन्द्रित छ । नियमावली परिमार्जनका क्रममा समिति सदस्यहरू सांसदले कुनै भौतिक क्षति पुर्‍याए उनैबाट भराउने व्यवस्था राख्न एकमत भएका हुन् ।

विगतमा सांसदहरूले संसद बैठकस्थलमा कुर्सी र माइक फोडेको इतिहास छ । एमाले नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ कुर्सी र माइक फुटाएपछि क्षतिको विवरण सङ्कलन गर्न समिति गठन गरिएको र ७ लाखसम्म क्षतिपूर्ति भराउन सिफारिस भएको सम्झिन्छन् । ‘७ लाख त हो क्षतिपूर्ति भराऔँ भनेको, होइन भन्ने भयो र त्यो त्यसै रह्यो’ नेम्वाङले मस्यौदा समितिको बैठकमा भने ।

संसदमा भएका तोडफोडका घटनालाई ख्याल गरेर प्रतिनिधिसभा नियमावली २०७५ मा पनि कुनै सांसदले संसद बैठकमा भौतिक क्षति पुर्‍याए स्वयंबाट भराउने व्यवस्था राखिएको थियो । जसलाई यसपटक पनि निरन्तरता दिन लागिएको हो ।

नियमावली मस्यौदा समितिमा जुटेको सहमति अनुसार नियमावलीमा संसदमा सुव्यवस्था कायम राख्ने सभामुखलाई विशेष अधिकार दिने व्यवस्था राखिनेछ । जहाँ संसदमा सांसदले भौतिक क्षति पुर्‍याए स्वयंबाट क्षतिपूर्ति भराइने प्रावधान रहनेछ ।

नियमावलीको मस्यौदा अनुसार प्रतिनिधिसभा बैठक कक्षमा शान्ति, सुव्यवस्था कायम गर्नु प्रत्येक सांसदको कर्तव्य हुनेछ ।

कुनै पनि सांसदले अनुशासन भङ्ग गरेमा, गर्न लागेमा, सभाको प्रतिष्ठामा आँच आउने किसिमले बैठक कक्षभित्र ध्वंसात्मक कार्य गरेमा, बल प्रयोग गरेमा वा गर्न लागेमा, कुनै भौतिक हानी नोक्सानी पुर्‍याएमा सभामुखले बैठक कक्षबाट तत्काल निष्कासन गर्न मर्यादापालकलाई आदेश दिन सक्नेछन् ।

‘यसरी निष्कासित सांसदलाई सभामुखले बढीमा पन्ध्र दिनसम्म निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाटै भराउने आदेश दिन सक्नेछ’ नियमावलीको मस्यौदामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस