शुभम् पावरको आईपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

शुभम् पावरको आईपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला


१८ माघ २०७९, बुधबार


काठमाडौँ । शुभम् पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका चार लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । सर्वसाधारणका लागि बिक्री गरिने सेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको एक लाख ८० हजार ५८० कित्ता सेयरसमेत थप भएको छ ।

कूल कित्ता सेयरमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । ११ हजार ६१० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

यो सेयर खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । यस अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन ३ गतेसम्म बिक्री अवधि लम्बिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा पाँच हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो सेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोला जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साल साउन १ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस