दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता


१७ माघ २०७९, मंगलबार


बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगर स्तरीय महिला टी-२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो ।

प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही एक सय ५० का दरले नगद दिने गरिएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए ।

नगरपालिकाले पहिलो पटक खेलाडीको हौसला र सम्मानस्वरुप प्रत्येक खेलमा खाजास्वरुप भत्ताको व्यवस्था गरेको हो । नगरपालिकाले खाजा खर्चस्वरुप भत्ताको व्यवस्था गरेपछि खेलाडीहरू पनि खुसी भएका छन् ।

खेलाडीको सम्मानस्वरुप भत्ता व्यवस्था गर्दा निकै खुसी लागेको दनपा–२ देहिमाडौँका खेलाडी पिङ्की बोहराले बताइन् । खाजा खर्चबापत दिँदै आएको भत्ताले आफूहरूलाई खेलमा हौसला मिलेको र उक्त रकमले आफूले चाहेअनुसारको खाजा खान पनि सहज भएको बोहराको भनाइ छ ।

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्गलवार सम्पन्न हुँदैछ । शहीद दिवसका अवसरमा शहीद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगितामा सात टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यस्तै प्रतियोगितामा ‘ओमेन अफ द सिरिज’लाई तीन हजार, ‘वेस्ट बलर’ र ‘वेस्ट ब्याट्स ओमेन’लाई १५/१५ सय, अनुशासित टोलीलाई तीन हजार र ‘ओमेन अफ म्याच’लाई ट्रफी प्रमाणपत्र दिइने जनाइएको छ ।

समापन समारोहमा नगरपालिकाभित्रका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदर पत्रसहित सम्मान गरिने जनाएको छ ।

यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरूको क्रिकेट खेलतर्फ रुचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खा भाइले बताए ।

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस