परराष्ट्र मन्त्री पौड्याल श्रीलङ्का जाँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

परराष्ट्र मन्त्री पौड्याल श्रीलङ्का जाँदै


१५ माघ २०७९, आइतबार


काठमाडौँ । परराष्ट्र मन्त्री विमला राई पौड्यालको पहिलो विदेश भ्रमण श्रीलङ्का हुने भएको छ । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल यही बिहीबार कोलम्बो जान लागेकी हुन् ।

परराष्ट्र स्रोतका अनुसार नेपालका लागि श्रीलङ्काकी कार्यवाहक राजदूत निलुसा डिल्मिनीले सिंहदरबार पुगेर श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसको दिनमा सहभागी हुन निम्तो दिए लगत्तै नेपालले सहभागिता जनाउने जवाफ दिएको हो ।

कार्यवाहक राजदूत डिल्मिनीले श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली सब्रिलेले पठाएको निम्तोलाई परराष्ट्र मन्त्री पौड्याललाई हस्तान्तरण गरेकी थिइन् । जवाफमा परराष्ट्र मन्त्री पौड्यालले आफूले श्रीलङ्काको भ्रमण गर्ने जवाफ दिएकी हुन् ।

श्रीलङ्काको स्वतन्त्रता दिवस फेब्रुअरी ४ (माघ २१) मा रहेको छ । श्रीलङ्का ७५ वर्षअघि बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

दक्षिण एसियाली मुलुक श्रीलङ्काले आर्थिक सङ्कटका बाबजुद यसपटक विशेष रूपमा अन्तर्राष्ट्रिय पाहुनाहरू बोलाएर आफ्नो स्वतन्त्रता दिवस मनाउन लागेको छ । यस अवसरमा अन्य मुलुकबाट पनि विदेश मन्त्रीहरूको सहभागिता हुने पक्का भइसकेको छ ।

परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे औपचारिक रूपमा घोषणा गर्न भने बाँकी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस