कैदी सरुवा गर्ने क्रममा सिराहा कारागारमा झडप, चार जना घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कैदी सरुवा गर्ने क्रममा सिराहा कारागारमा झडप, चार जना घाइते


१५ माघ २०७९, आइतबार


काठमाडौँ । सिराहास्थित जिल्ला कारागारमा तीनजना कैदीलाई सरुवाका लागि रमाना लिएर निस्किने वेलामा कैदीबन्दीहरूबीच झडप र नाराबाजी हुँदा चारजना घाइते भएका छन्। 

कारागार व्यवस्थापन विभागको गत २२ पुसको पत्रअनुसार दुईजना कर्तव्य ज्यान र एकजना लागुऔषध मुद्दाका गरी तीनजना कैदीलाई सरुवा गराउन शनिबार बिहान रमाना पत्र बनाएर कारागारबाट निकाल्ने वेलामा झडप भएको जेलर भवेशकुमार झाले बताए। 

जेलर झाका अनुसार कारागारभित्र जडान गरिएको सिसिक्यामेराको कभरेज नपुग्ने ठाउँमा हानाहान हुँदा कारागारमा अन्य चारजना कैदी बन्दी घाइते भएपछि शनिबार दिनभर र आइतबार मध्याह्नसम्म कारागारमा नाराबाजी भएको थियो।

तत्काल कारागारको सुरक्षार्थ खटिएका प्रहरीको सहयोगमा घाइते भएका विजयकुमार महतो, ओमेन्द्रकुमार पासवान, सन्तोषकुमार पासवान र राजन पासवानलाई सिराहास्थित प्रादेशिक अस्पतालमा उपचार गरी विभागसँगको समन्वयमा सुरक्षाका लागि शनिबार रातभर जिल्ला प्रहरीमा राखिएको उनले बताए। उनका अनुसार झडप भए पनि लामा, यादव र मोक्तानसहित तीन जनालाई भने शनिबार नै झुम्का कारागार पठाइएको छ। 

कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कुल एक सय ५० जना कैदी बन्दी बस्ने क्षमता भए पनि करिब चार गुणाभन्दा बढी कैदी र थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासनका अनुसार सिराहा कारागारमा ३१ महिला र तीन आश्रित तथा छ सय सात पुरुष कैदी बन्दी रहेको जनाइएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस