भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला


१४ माघ २०७९, शनिबार


भोजपुर । सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।

विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक रु छदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, तथा षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ ।

टेम्केमैयुङ-५ खावा केराबारीका चण्डालकुमार राईले यो व्यावसायबाट राम्रो आम्दानी गरिरहेको बताए । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । ‘मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएको छु’, कृषक राईले भने, ‘व्यावसायिक रुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, मेरो बगानमा चार सय बोट सुन्तलाका छन् ।’

राईले ४४ वर्षअघिदेखि सुन्तला व्यवसायमा लागेको बताए । सुन्तला खेती किसानहरुको पेन्सनका रुपमा लिन सकिने उनको भनाइ छ । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । ‘सुन्तला खेती बुढेसकालको सहारा बनेको छ’, उनले भने, ‘एक पटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्य रुपमा बगानको हेरचाह मात्र गरे धेरै दुःख गर्न पर्दैन ।’

व्यावसायिक सुन्तला खेतीमा लागेका उनी विभिन्न समयमा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत बनेका छन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेका छन् । आफैँले बिक्री गर्न बजारसम्म लैजान सके राम्रो मूल्य लिन सकिने उनको भनाइ छ । यहाँको सुन्तलाको मुख्य बजार धरान, इटहरी, विराटनगर र काठमाडौँ रहेको राईले बताए । ‘यहाँको सुन्तलाको बजारमा राम्रो माग छ’, उनले भने, ‘मुख्य रुपमा धरान, इटहरी, विराटनगर र काठमाडौँ जान्छ, उत्पादन भएको सुन्तला बिक्री गर्न कुनै समस्या छैन ।’

यो क्षेत्रका अधिकांश किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेको स्थानीय किसान देवराज राईले बताए। खावा केराबारीका किसानले मुख्य आम्दानीको स्रोतका रुपमा सुन्तलालाई बनाएको उनको भनाइ छ । यहाँको सुन्तलाको बजारमा राम्रो माग रहेको किसान राईले जानकारी दिए। बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले केराबारीको सुन्तलाको बजारमा छुट्टै स्थान रहेको उनले बताए ।

‘यहाँका ७० बढी घरपरिवारको मुख्य आम्दानीको स्रोत सुन्तला हो’, उनले भने, ‘सुन्तलाबाट राम्रो आम्दानी गरिरहेका छौँ, यो समयमा यहाँका कृषक सुन्तला बिक्रीमा व्यस्त रहेका छन् ।’ सुन्तलाबाट राम्रो आम्दानी हुने भए पनि थप खेती विस्तारमा लागेको किसान राईको भनाइ छ । आफ्नो बारीमा चार सय बोट सुन्तलाका बिरुवा लगाएको उनले बताए। ‘अहिले पुरानो बगानबाट वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी हुन्छ’, किसान राईले भने, ‘केही वर्षपछिबाट रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य छ ।’

सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तला खेती विस्तारमा जुटेको उनले बताए । किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउन सके थप सहजता हुने किसानको भनाइ छ ।

उत्पादन भएको सुन्तला भण्डारणका लागि चिस्यान केन्द्र स्थापना गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘किसानलाई उत्पादन भएको सुन्तला भण्डारणमा समस्या छ’, उनले भने, ‘भण्डारणको व्यवस्था राम्रो नहुँदा एकै पटक बजारमा पठाउनुपर्ने भएकाले किसानले सोचे जस्तो लाभ लिन नसकेको अवस्था छ ।’

यहाँका सुन्तला किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक काम गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । आगामी दिनमा यसको थप विस्तारका लागि काम गर्ने वडा नं ५ का वडाध्यक्ष सुनिल राईले बताए । ‘हाम्रो खावा केराबारी क्षेत्र सुन्तलाको अत्यन्तै राम्रो भूगोल हो’, उनले भने, ‘केही प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यहाँको सिँचाइको समस्यालाई ध्यानमा राखेर काम गर्ने योजनामा छौँ ।’

सुन्तलाका लागि पूर्व उत्तर फर्केको जमिन उपयुक्त हुने किसानको भनाइ छ । सुन्तला विशेष गरेर समुन्द्री सतहबाट एक हजारदेखि एक हजार दुई सय मिटरसम्मको उचाइमा राम्रो फस्टाउने गर्दछ ।

टेम्केमैयुङ गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने काम गरिरहेको अध्यक्ष सरोज बस्नेतले बताए । यहाँका नगदेबालीसँगै कृषि तथा पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उनको भनाइ छ ।

‘गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो योजना नै छ’, अध्यक्ष बस्नेतले भने,’यहाँका हाम्रो सबै नौवटै वडामा सुन्तला फल्छ, सुन्तलाबाट राम्रै आम्दानी गरिरहेको अवस्था पनि छ, यसलाई थप प्रोत्साहन गर्न विभिन्न खेतीमा लागेका किसानको तथ्याङ्क सङ्कलन गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ ।’

भोजपुरमा यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादन भएको सुन्तला प्रतिकिलो एक सयदेखि एक सय २० मा बिक्री हुँदै आएको किसानको भनाइ छ । जिल्लाभर ९ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस