जीवित शिशुलाई मृत घोषणा प्रकरणमा चिकित्सकले पाए सफाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जीवित शिशुलाई मृत घोषणा प्रकरणमा चिकित्सकले पाए सफाइ


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । कोसी अस्पतालका डाक्टरले जीवित शिशुलाई मृत घोषणा गरेको घटनाको विषयमा छानबिन गर्न गठित समितिले अस्पताल र चिकित्सकले लापरबाही नगरेको प्रतिवेदन पेश गरेको छ । 

समितिले उक्त प्रतिवेदन अस्पताल प्रशासनलाई बिहीबार बुझाएको छ । जीवित शिशुलाई मृत्यु भएको बताएपछि आफन्त, चिकित्सक र अस्पतालबिच एक साता अगाडि तनाव उत्पन्न भएको थियो ।

उक्त तनावपछि अस्पताल प्रशासनले सोही अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको संयोजकत्वमा, डा. सूर्यकान्त चौधरी र अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालसहितको छानबिन समिति गठन गरेको थियो । समितिले अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवलाई प्रतिवेदन बुझाएको हो । 

समितिले बुझाएको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीहरू गम्भीर दोषी नरहेको निष्कर्ष रहेको छ । यससँगै उपचारमा संलग्न चिकित्सक आकाश यादव र पारामेडीकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीको लापरबाही नदेखिएकाले कामकाजमा खटिने अस्पतालका सूचना अधिकारी नेपालले बताए ।

‘शिशुलाई इमरजेन्सी वार्डमा देखाउँदा अक्सिजनको लेभल एकदमै न्यून रहेका कारण बच्चीको मुटुको चाल अन्त्यता कमजोर भएको उपचार संलग्न चिकित्सकले भनेको रहेछन् । चिकित्सकले बच्चाको चाल नभएको बताएपछि आफन्तले तत्कालै दाहसंस्कारका लागि घर लगेका रहेछन् । चिकित्सकले बच्चाको मृत्यु भयो भनेर भनेका रहेनछन्, यो कुरा शिशुका बुबाले पनि स्वीकार गरिसकेका छन् । अत्तालिएका आफन्तले बच्चा मरेको ठानेर तत्काल लिएर गएछन्,’ छानबिन प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन बनाउँदा पीडित, चिकित्सक र स्वास्थ्यकर्मीलगायत  सबै पक्षको भनाइ समेटिएको छ । शिशुका बुबाले चिकित्सकको केही दोष नभएको पनि बताएको छानबिन समितिमा सदस्य तथा अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बताए । 

चिकित्सकले बच्चाको चाल नभएको भनेपछि उनीहरूले दाहसंस्कार गर्ने उद्देश्यका साथ घर पुर्‍याएका थिए । घर पुगेको पाँच मिनेटपछि शिशुको पेट चल्न थालेको र लगत्तै गोल्डेन अस्पताल लगिएको प्रतिवेदनमा उल्लेख छ ।

तर, एक सातापछि मङ्गलवार बिहान साढे १० बजे शिशुको मृत्यु भएको थियो । मृत्युपछि उपचार खर्च बुझाएर आफन्तले सद्गदसमेत गरिसकेका छन् ।

शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मिर्गौलाले काम नगरेको तथा इन्फेक्सन बढेकोलगायतका समस्या देखिएको थियो । आगामी दिनमा भने चिकित्सकले सचेत भई गम्भीर रूपमा काम गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस