घरेलु कार्यालयद्वारा १६२ फर्म खारेज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घरेलु कार्यालयद्वारा १६२ फर्म खारेज


१२ माघ २०७९, बिहिबार


दमौली । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् ।

सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेज गरेको कार्यालयका कम्प्युटर अपरेटर रवि अधिकारीले बताए । कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मङ्सिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुई, जेठमा १७ र असारमा २८ फर्म खारेजीमा परेका छन् ।

सोही अवधिमा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । उक्त अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावारमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयले जनाएको छ । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाई पालन, बाख्रा पालन, कुखुरा पालन, मौरी पालन, माछा पालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

तनहुँमा थपिएका उद्योगको कूल पुँजी ६३ करोड ५२ लाख पाँच सय ४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ ।

थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये पाँच सय ३४ महिला र पाँच सय एक पुरुष छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ता बापत २४ लाख तीन हजार चार सय राजस्व सङ्कलन भएको छ ।

सोही अवधिमा तीन सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी/नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँ सारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ ।

गत आव २०७७/७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो ।

त्यस्तै आव २०७६/७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो ।

एक लाखसम्म पुँजी भएको उद्योगले एक हजार एक सय, तीन लाखसम्म पुँजी भएको उद्योगले तीन हजार एक सय, पाँच लाखसम्म पुँजी भएको उद्योगले छ हजार एक सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार एक सय, एक करोडसम्म पुँजी भएको उद्योगले २० हजार एक सय, पाँच करोडसम्म पुँजी भएको उद्योगले ३० हजार एक सय र पाँच करोड भन्दामाथि पुँजी भएको उद्योगले ५० हजार एक सय १० दर्ता बापत शुल्क बुझाउनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस