प्रेम आचार्यको आत्मदाह घटनामा छानबिन समिति गठन गर्न आवश्यक देखिएन: गृहमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रेम आचार्यको आत्मदाह घटनामा छानबिन समिति गठन गर्न आवश्यक देखिएन: गृहमन्त्री


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

‘आत्मदाह गर्नुभएका प्रेमजीले गम्भीर विषय उठाउनुभएको थियो, उहाँले आफू अन्यायमा परेको विषय पनि उठाउनुभएको थियो’, गृहमन्त्री लामिछानेले भने, ‘ती विषयमा गृह मन्त्रालयले नै तदारुकताका साथ छानबिन गर्ने र सत्य तथ्य बाहिर आइसकेपछि आवश्यक कदम चाल्ने निर्णय भएको छ ।’

गृह मन्त्रालयले यस विषयमा काम अघि बढाउने उनले जानकारी दिए । छानबिनका लागि समिति गठनको आवश्यकता अहिले नदेखिएको उनले स्पष्ट पारे । ‘समिति गठन गर्नुपर्ने आवश्यकता अहिले नै छैन तर आवश्यक परेको खण्डमा समिति गठन गरिनेछ’, उनले भने ।

इलामका व्यवसायी आचार्यले नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी र्कीतिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा निधन भएको थियो ।

उनले आफ्नो शरीरमा आगो लगाउनु अघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर आफूले भोगेका घटना उल्लेख गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस