चोर समात्नेलाई १० हजार पुरस्कार दिने गाउँपालिकाको घोषणा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चोर समात्नेलाई १० हजार पुरस्कार दिने गाउँपालिकाको घोषणा


११ माघ २०७९, बुधबार


काठमाडौँ । प्युठानको गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।

प्युठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

गाउँमा कुनै शङ्कास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरूलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले घुमन्ते व्यापारीलाई अर्को सूचना नआएसम्मका लागि गाउँ प्रवेशमा रोक पनि लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले निकालेको सूचनामा भनिएको छ, ‘यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरूलाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुञ्जेलम्मका लागि गाउँपालिकाको सीमा भित्र प्रवेश गर्न निषेध गरिएको ब्यहोरा जानकारी गराइन्छ ।’

पछिल्लो दुई हप्तालाई हेर्ने हो भने प्युठानमा चोरीका शृङ्खलाबद्ध घटना भएका छन् । नगद र गरगहनासहित लाखौँको लुटपाट भएको छ । व्यक्तिका घरदेखि पसल, वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयसम्म गरी दर्जनौँ ठाउँमा चोरी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस