पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै


११ माघ २०७९, बुधबार


काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलका अनुसार मुलुकमै पहिलो पटक पाँचखाल नगरपालिका-७ मा महिला तथा कृषिलाई केन्द्रित गरी औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो । ‘मुलुकको आर्थिक क्षेत्रमा महिला उद्यमीको ठूलो भूमिका छ’, उनले भने । हरित औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहले दक्षिण एसियाली महिला विकास मञ्चसँग सहकार्य गरेको छ ।

स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिन सो कार्यक्रमले महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवार बताउछन् । यसका लागि पाँचखाल-७ मा ९८ रोपनी जग्गा २५ वर्षका लागि उपलब्ध गराउने योजना छ । औद्योगिक ग्राम सञ्चालनपछि रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने नगरप्रमुख खरेलले बताए। ‘जमिन सम्याउने र पहुँच मार्ग निर्माणको काम सकिएको छ’, उनले भने ।

हरित ग्राम निर्माणका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ, नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भएको हो । प्रारम्भिक चरणमा रु ६० लाख विनियोजन गरिएको थियो ।

बागमती प्रदेशका सङ्घीय अनुदान प्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका पाँच स्थानीय तहमा आर्थिक वर्ष २०७६/७७ मा सरकारले औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको थियो । त्यसअनुसार काभ्रेपलान्चोकमा तीन तथा मकवानपुर, दोलखा र चितवनमा एक/एक औद्योगिक ग्राम निर्माण गर्न सरकारले ९२ लाख बजेट छुट्याएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस