निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा छ : अर्थमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा छ : अर्थमन्त्री


९ माघ २०७९, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए ।

आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँग कुरा गर्दै उनले यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने बताए ।

महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न माग गरेको थियो । महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्व बजारसम्म पुर्‍याउन, निर्यातजन्य नेपाली वस्तु तथा सेवाको मूल्य तथा बजार बढाउन र निकासी सहजताका लागि आवश्यक पहल गर्न माग गरेको थियो ।

महासङ्घका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय मेला आयोजना हुन सके नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा चिनाउन मद्दत पुग्ने बताए । मेलामार्फत नेपाली कला, संस्कृति, खाद्य परिकार प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न करिब १९ करोड आठ लाख खर्च लाग्ने महासङ्घको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस