सम्झौता कार्यान्वयन नभएपछि फेरि आन्दोलन गर्ने बन्चरेडाँडाबासीको चेतावनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सम्झौता कार्यान्वयन नभएपछि फेरि आन्दोलन गर्ने बन्चरेडाँडाबासीको चेतावनी


८ माघ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्षेत्र बन्चरेडाँडाका स्थानीयसँग भएको सम्झौता कार्यान्वयन नभएपछि स्थानीयवासी असन्तुष्ट बनेका छन् । साथै फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिन थालेका छन् । 

प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर जबरजस्ती फोहोर फ्याँक्ने काम भइरहेको छ । मेयर बालकृष्ण आचार्यका अनुसार अहिले पनि प्रहरीले बल प्रयोग गरेरै फोहोर फाल्ने काम भइरहेको छ । काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग स्थानीयले पटकपटक सम्झौता गर्दै आएपनि उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् । 

गत जेठमा फोहोर व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच दैनिकजसो झडप हुने गरेको थियो । 

काठमाडौँका सडकभरि फोहोर थुप्रिन थालेपछि मात्रै महानगरपालिकाको ध्यानाकर्षण हुने गरेको स्थानीयको गुनासो छ । महानगर र मन्त्रालयसँग विभिन्न समयमा भएका सम्झौताहरू कार्यान्वयन नभइरहेकाले आफूहरू फेरि सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने स्थानीयको चेतावनी छ ।

स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुवात गर्नुपर्ने, गुठीको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्ने लगायतमा मागहरू राख्दै आएका छन् । 

मन्त्रालयले स्थानीयसँग प्रभावित क्षेत्रका पाँचवटा क्षेत्रका लागि आर्थिक वर्ष २०७९/०८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि एक करोड ७० लाख रुपैयाँ विनियोजन गर्ने सहमति गरेको थियो । साथै जग्गा अधिग्रहण गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थाल्ने, १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने, ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने सहमति मन्त्रालयले गरेको थियो ।

त्यस्तै, महानगरले त्यतिबेलै एक हप्ताभित्र धुनिबेँसी नगरको वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य बिमा गर्ने सहमति गरेको थियो । 

तर, सम्झौता भएअनुसार बजेट असारमै विनियोजन हुनुपर्नेमा अहिलेसम्म पनि नभएको धुनिबेँसी नगरपालिकाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस