सुनचाँदीका गहना राखेको २५० किलोको ‘सेफ’ चोरी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनचाँदीका गहना राखेको २५० किलोको ‘सेफ’ चोरी 


८ माघ २०७९, आइतबार


काठमाडौँ । रुपन्देहीको कञ्चन गाउँपालिका-५ गरगरेमा सञ्चालित न्यू अर्घाखाँची सुनचाँदी पसलबाट साढे आठ लाखका तयारी सामग्री चोरी भएको छ । पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ नै चोरी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार राति पसलको सटर फोरेर सेफसहित गरगहना चोरी भएको हो । पसल धनी लालबहादुर विश्वकर्माका अनुसार सेफमा आठ तोला सुन र ६० हजार बराबरको चाँदीका गरगहना रहेको थियो ।

तर, २५० किलोभन्दा बढी वजन रहेको सेफ चोरी हुँदा स्थानीयले थाहा पाएनन् । बजारमा राखिएको सीसीटीभी क्यामरा नचल्दा चोरीको फुटेजसमेत कतै कैद हुन सकेन ।

कञ्चन गाउँपालिकाले बजार क्षेत्रमा सीसीटीभी राखेको भए पनि कुनै पनि चालू अवस्थामा नदेखिएको इप्रका सालझण्डीका प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।

उनका अनुसार चोरी भएको ठाउँदेखि ४०० मिटर पश्चिम कपिलवस्तु जाने बाटोको कुलामा चाँदीको पाउजु र गहना राख्ने ट्रे फेला परेको छ । प्रहरीले सर्च अभियान जारी राखेको जनाएको छ ।

पसल सञ्चालकको केही समयअघि दुर्घटनामा परेर निधन भएको थियो । केही दिनअघि मात्रै खोलिएको पसलबाट सेफसहित चोरी भएकाले घटना रहस्यमय भएको प्रहरी निरीक्षक मरासिनीले बताए ।

यता सुनचाँदी व्यवसायी सङ्घ रुपन्देहीका महासचिव सीताराम रसाइलीले विज्ञप्ति जारी गर्दै सुन पसलबाट सेफ नै चोरी हुनुले सिङ्गो सुनचाँदी व्यवसायी आतङ्कित भएको उल्लेख गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस