विपक्षी मोर्चा बनाएको काँग्रेसलाई राष्ट्रपतिमा माओवादीको आस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विपक्षी मोर्चा बनाएको काँग्रेसलाई राष्ट्रपतिमा माओवादीको आस


५ माघ २०७९, बिहिबार


काठमाडौँ । सभामुखको निर्वाचनबाट काँग्रेसको नेतृत्वमा चार दलीय विपक्षी मोर्चा बनेको छ । शनिबार हुने उपसभामुखको निर्वाचनमा पनि विपक्षी मोर्चाले उम्मेदवार खडा गर्ने नेताहरूले बताएका छन् ।

सभामुखमा काँग्रेसले उम्मेदवारी दिएकाले विपक्षी गठबन्धनबाट एकीकृत समाजवादीले उपसभामुखमा उम्मेदवार दिने बुझिएको छ । सात दलीय गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिने छ । विपक्षी मोर्चाले उपसभामुखमा पनि परिणाम हात पार्ने सम्भावना न्यून छ । यही माघभित्र हुने राष्ट्रपति निर्वाचनसम्म सत्तासीन माओवादीको साथ पाउने विपक्षी मोर्चाको आशा छ ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन् । ‘काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ’, शर्माको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएअनुसार राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार निर्वाचित हुने शर्माको दाबी थियो ।

बिहीबार संसद भवनबाट पनि शर्माले जनताले सरकार र शीतल निवासको नेतृत्वको अपेक्षा गरेर नै काँग्रेसलाई पहिलो दल बनाएको बताए । 

राष्ट्रपतिको निर्वाचनमा परिणाम हासिल गर्ने गरी तयारी लाग्न शर्माका भनाइ छ । यस्तै काँग्रेस सांसद प्रदीप पौडेलले भने काँग्रेसले राष्ट्रपतिमा उम्मेदवार दिने भन्दै आजैदेखि समर्थन जुटाउने प्रयासमा लाग्ने बताए । 

यस्तै काँग्रेस सांसद चन्द्र भण्डारीले सभामुख चुनावमा मिसन सफल नभए पनि राष्ट्रपतिको चुनावमा सफल हुने बताए । 

यता काँग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले विपक्षी दलहरूसँग छलफल गरेर एकताबद्ध बनेर आगामी रणनीति तय गर्ने बताए । 

उनका अनुसार संविधानतः दलभन्दा माथि रहेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा प्रधानमन्त्री प्रचण्डबाट सर्वदलीय बैठकमा आएको राष्ट्रिय सहमतिको प्रस्तावलाई काँग्रेसले सकारात्मक रूपमा लिएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको प्रस्तावको प्रतिवादमा उत्रिएपछि विपक्षी मोर्चा बनाएर सभामुख र उपसभामुखमा प्रतिस्पर्धा रोजेको काँग्रेसका नेताहरूको भनाइ छ । अघिल्लो संसदमा सभामुखका दुई वटै निर्वाचनमा संसदमा सभामुखको भूमिका निष्पक्ष हुनुपर्ने भएकाले दलीय आधारमा प्रतिस्पर्धा गर्दा राम्रो सन्देश नजाने तर्क काँग्रेसले गरेको थियो । सोही आधारमा त्यति बेला उम्मेदवार नउठाएको काँग्रेसले अहिले प्रतिस्पर्धाको नीति लिएको छ ।

विश्वासको मत दिनुअघि राष्ट्रपतिमा सहयोग गर्ने प्रचण्डको सङ्केतले काँग्रेसले आस मारेको छैन । प्रधानमन्त्री प्रचण्डले आज पनि राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताएका छन् ।

तर एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुनुपर्ने टिप्पणी गरेका छन् ।

ओली मङ्गलवारको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीको राष्ट्रिय सहमतिको प्रस्तावको प्रतिवादमा उत्रिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस