सीआईडी हौँ भन्दै लुटपाट गर्ने ६ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सीआईडी हौँ भन्दै लुटपाट गर्ने ६ जना पक्राउ


५ माघ २०७९, बिहिबार


काठमाडौँ । प्रहरीको सीआईडी हौँ भन्दै लुटपाट गर्ने गिरोहका ६ जना महोत्तरीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका १९ वर्षीय दीपक राउत छन् ।

उनीहरूलाई बुधबार प्रहरीले लुटपाटको सामानसहित बर्दिबासबाट नियन्त्रणमा लिएको हो । बर्दिबास प्रहरीका प्रहरी नायव निरीक्षक रवि रावलका अनुसार उनीहरूले प्रहरीको सीआईडी हुँ भन्दै गत पुस २८ गते अपराह्न सर्लाही हरिवन नगरपालिकाका राहुल महतोलाई नियन्त्रणमा लिई बर्दिबास ४ स्थित चेरुको जङ्गलमा लगेर लुटपाट गरेका थिए ।

महतोको साथमा रहेका ७५ हजार नगद, चाँदीको ब्रासलेट, लेन्ससहितको नेकोन एएफएस क्यामेरा, ३ थान मोबाइलसमेत लुटेको प्रहरीले जनाएको छ । उनीहरूले लुटपाटपछि सीआईडी भन्दै धम्काएका थिए ।

महतोले दिएको उजुरी दिएपछि हुलियाको आधारमा ६ जनालाई पक्राउ गर्न सफल भएको हो । उनीहरूमाथि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस