३० हजार मेट्रिक टन गहुँ आयात गर्न २४ उद्योगलाई अनुमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३० हजार मेट्रिक टन गहुँ आयात गर्न २४ उद्योगलाई अनुमति


५ माघ २०७९, बिहिबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले आयात अनुमति दिएको गहुँको कोटा वितरण सुरु गरेको छ । भारतले आयात अनुमति दिएको ५० हजार मेट्रिकटन मध्ये पहिलो चरणमा २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयातका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि कोटासहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको मन्त्रालयकी सह-प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

मैदा उद्योगहरूले आर्थिक वर्ष २०७७/७८ मा उत्पादन गरेको मैदाको परिमाणको आधारमा उद्योगहरूलाई दामासाही ७ प्रतिशतका दरले गहुँ आयातको कोटा विवरण गरिएको केसीले बताइन् । 

मैदा उत्पादनको आधारमा गरिएको कोटा वितरणमा कम्तिमा ८२ देखि अधिकतम २ हजार ३७५ मेट्रिकटनसम्म गहुँ आयातको कोटा सिफारिस भएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये सबै भन्दा धेरै मैदा आयातको अनुमति रुपन्देहीको घराना फुड्सले पाएको छ । यो उद्योगले २ हजार ३७५ मेट्रिकटन गहुँ आयातको कोटा पाएको छ । यस्तै सबै भन्दा कम गहुँको कोटा जय श्री फ्लोर मिल्स रुपन्देहीले पाएको मन्त्रालयले जनाएको छ । यो उद्योगले जम्मा ८२ मेट्रिकटन गहुँ आयातको अनुमति पाएको छ ।

बाँकी रहेको २० हजार मेट्रिकटन कोटाको गहुँ आयातका लागि थप छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा माग भएर आएका सबै उद्योगलाई दामासाही भाग लगाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको जनाएको छ । आयात अनुमति सिफारिस भएको उद्योगहरूले आगामी चैत दोस्रो सातासम्म ती गहुँ आयात गरिसक्नु पर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस