जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई कामकाजमा रोक, छानबिन समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई कामकाजमा रोक, छानबिन समिति गठन


५ माघ २०७९, बिहिबार


काठमाडौँ । विराटनगरको कोसी अस्पतालले जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक लगाएको छ । त्यस्तै उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।

बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि इमरजेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषित गरेका थिए ।

चिकित्सकले मृत घोषित गरेपछि आफन्तले शिशुलाई घर लिएर गएका थिए । अन्त्येष्टिको तयारी हुँदै गर्दा शिशुले शरीर चलाएपछि आफन्तले गोल्डेन अस्पताल विराटनगर भर्ना गरेका थिए । अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा लापरबाही गरेको गुनासो आएपछि अस्पतालले छानबिनका लागि बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल छन्।

अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालले छानबिन नसकिएसम्म उपचारमा संलग्न डा. आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको बताए ।

बुधबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म इमर्जेन्सी वार्डमा डा. यादव र अहेबद्वय माझी र भण्डारी ड्युटीमा थिए ।

बुधबार बिहान मोरङको जहदा गाउँपालिका-३ घर भई विराटनगर १० माइती घर बस्दै आएकी उमादेवी मुखिया र उनका श्रीमान् दलिपि मुखियाले १९ दिने नवजात शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । अस्पताल पुर्‍याएको केही समयपछि डा। आकाश यादवको टोलीले मृत घोषित गरेको थियो ।

चिकित्सकले मृत घोषित गरेको शिशु जिउँदै रहेको पाएपछि शिशुका आफन्तले कोसी अस्पतालमा आएर उपचारमा खटिएका चिकित्सकमाथि हातपात गरेका थिए ।

सम्बन्धित समाचार : शिशुलाई डाक्टरले मृत घोषणा गरेपछि…

Tags :
प्रतिक्रिया दिनुहोस