पत्रकार रेसा कर छलीको मुद्दामा निर्दोष ठहर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पत्रकार रेसा कर छलीको मुद्दामा निर्दोष ठहर


४ माघ २०७९, बुधबार


काठमाडौँ । नोबेल पुरस्कार विजेता पत्रकार मारिया रेसालाई फिलिपिन्सको एक अदालतले कर छलीको मुद्दामा निर्दोष ठहर गरेको छ ।

फिलिपिनी अदालतले रेसा र उनको संस्था र्‍यापलरलाई निर्दोष ठहर गरेको हो । अदालतको फैसलालाई प्रेस स्वतन्त्रताको जितका रूपमा समेत चित्रित गरिएको छ ।

फैसलापछि रेसाले भनेकी छिन्, ‘आज तथ्यको जित भएको छ, सत्यको जित भएको छ । न्यायको जित भएको छ ।’ यस प्रकरणमा उनी दोषी ठहर भएको भए उनलाई ३४ वर्षसम्म जेल सजाय हुन सक्थ्यो ।

उक्त मुद्दा सन् २०१८ देखि चलिरहेको थियो । पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते सरकारले मारिया रेसा र मिडिया संस्था र्‍यापलरविरुद्ध विदेशबाट लगानी भित्र्याएको र कर छली गरेको आरोप लगाएको थियो ।

फिलिपिन्सको न्याय विभागले सन् २०१५ मा ओमिड्यार नेटवर्क र नर्थ बेस मिडियाबाट र्‍यापलरमा लगानी भित्रिएको र त्यसको कर भुक्तानी नगरेको आरोप लगाएको थियो । तर रेसा र र्‍यापलरले भने त्यसको खण्डन गर्दै आएको छ । अदालतले पनि सरकारी पक्षले रेसा र र्‍यापलरविरुद्ध सबुत प्रमाण जुटाउन नसकेको फैसलामा जनाएको छ ।

रेसाले सन् २०२१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् । त्यस वर्ष फिलिपिनो–अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई उक्त पुरस्कार दिइएको थियो । उनीहरूलाई अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कार दिइएको कमिटीले जनाएको छ । प्रजातन्त्रको पूर्वसर्त र शान्तिका लागि अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण भएको र त्यसको रक्षाका लागि रेसा र मुरातोभले उल्लेख्य भूमिका निर्वाह गरेको कमिटीले जनाएको छ ।

रेसा फिलिपिन्सको पेसिगबाट सञ्चालन भएको समाचार वेबसाइट र्‍यापलरकी संस्थापक तथा सिइओ हुन् । त्यसअघि उनले झन्डै २० वर्ष सीएनएनका लागि दक्षिण पूर्वी एसियाबाट खोज पत्रकारका रूपमा काम गरेकी थिइन् ।

फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई सन् २०१८ मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो । उनी फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेको खरो आलोचक हुन् । उनलाई सन् २०१९ साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । उनी रिपोर्टर्स विदाउथ बोर्डर्सको सूचना तथा प्रजातन्त्र आयोगकी सदस्यसमेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस