सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम, ७५ प्रतिशतमा खुम्चियो सङ्कलन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम, ७५ प्रतिशतमा खुम्चियो सङ्कलन


२ माघ २०७९, सोमबार


काठमाडौँ । चालू आर्थिक वर्ष ०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ।

पुस मसान्तसम्म छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा चार खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर मात्रै असुली भएको अर्थ मन्त्रालयले जनाएको छ।

यो अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशत बराबर हो । अर्थात् चालू आवको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत बिन्दुले न्यून देखिएको छ। यो अवधिमा भन्सार राजस्व सङ्कलन सबैभन्दा बढी प्रभावित भएको देखिन्छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार भन्सार राजस्व सङ्कलन पुस मसान्तसम्मको लक्ष्यको ५३ प्रतिशत बराबर मात्रै छ।

६ महिना अवधिमा एक खर्ब ६१ अर्ब ८२ करोड ३० लाख बराबर भन्सार उठाउने सरकारी लक्ष्य रहेकोमा ८५ अर्ब ७८ करोड ७३ लाख बराबर मात्रै सङ्कलन भएको देखिएको हो।

मूल्य अभिवृद्धि कर(भ्याट) र अन्तःशुल्क असुलीमा पनि ७२ प्रतिशत बराबर मात्रै उपलब्धि हासिल भएको छ। पुस मसान्तसम्ममा एक खर्ब ८० अर्ब २४ करोड ८३ लाख बराबर भ्याट उठाउने सरकारी लक्ष्य रहेकोमा एक खर्ब ८० अर्ब २४ करोड ८३ लाख बराबर मात्रै उठेको देखिन्छ।

चालू आवको अर्धवार्षिक अवधिमा अन्तःशुल्कतर्फ ९७ अर्ब ५० करोड ९६ लाख बराबर असुली गर्ने सरकारी लक्ष्य थियो। तर, यही अवधिको वास्तविक अन्तः शुल्क असुली भने ७० अर्ब ५१ करोड बराबर छ। जुन अर्धवार्षिक लक्ष्यको ७२ दशमलव तीन प्रतिशत बराबर हो।

यही अवधिमा सरकारले रु एक खर्ब १६ अर्ब ७९ करोड बराबर आयकर उठाएको छ। जुन रकम यो अवधिका लागि राखिएको लक्ष्यको ७४ दशमलव तीन प्रतिशत बराबर हो। सरकारले पुस मसान्तसम्ममा एक खर्ब ५७ अर्ब २२ लाख १८ हजार बराबर आयकर उठाउने लक्ष्य राखेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस