पोखरा विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पोखरा विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरु


२ माघ २०७९, सोमबार


काठमाडौँ । आइतबार पोखराको सेतीखोंचमा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरु भएको छ।

शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमर्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए। पोस्टमार्टम लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन्।

दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा राखिएको छ। एउटा शव पोस्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ ।

पोस्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरू काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ ।

पोस्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस