‘विमान दुर्घटनामा ज्यान गुमाएकाको बीमा दाबी भुक्तानीमा कुनै समस्या छैन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘विमान दुर्घटनामा ज्यान गुमाएकाको बीमा दाबी भुक्तानीमा कुनै समस्या छैन’


२ माघ २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरूलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरूको बीमा दाबी भुक्तानी सम्बन्धमा कुनै समस्या नरहेको बताए ।

शवहरूको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरूलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको उनले बताए । प्रमाणको आधारमा बीमा दाबीमा कुनै समस्या नरहेको उनको भनाइ थियो ।

विदेशी नागरिकको शव पनि सङ्कलन गरेर त्यसको पोस्टमार्टम गर्नुपर्ने र त्यसलाई विदेश पठाउने व्यवस्थालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए ।

बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरू र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस