४ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य जारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

४ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य जारी


२ माघ २०७९, सोमबार


पोखरा । पोखरामा आइतबार भएको विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ । उनीहरुबारे खोजी कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । उक्त विमानमा चालकदलका ४ जनासहित ७२ जना सवार थिए ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो ।

‘अहिलेसम्म ६८ जनाकोमात्रै शव भेटिएको छ । बाँकी ४ जनाको अवस्था पत्ता लगाउन पनि हामी लागिपरेका छौं,’ जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी अनिल शाहीले भने ।

खोंचमाथि अड्किएको विमानको मुख्य भाग हटाएर बिहान शव खोजिएको थियो । तर, त्यहाँ पनि नभेटिएको उद्धारमा संलग्न सुरक्षाकर्मी स्रोतले जानकारी दिएको छ । ‘भित्र खोंच गहिरो छ । हामी त्यता पनि खटिएका छौं, प्रयास गर्दैछौं,’ उद्धारमा खटिएको नेपाल प्रहरी स्रोतले भन्यो ।

उद्धारमा समस्या भएपछि क्रेनको प्रयोग गरिएको छ भने गोताखोरको प्रयोग भइरहेको छ । शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार हालसम्म ३८ जनाको सनाखत भएको छ । ‘सनाखत नभएका व्यक्तिहरुलाई आझै काठमाडौँ हेलिकप्टरबाट लगेर डीएनए परीक्षण गरिनेछ,’ अस्पताल स्रोतले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस