सुदूरपश्चिममा सभामुख चयन गर्ने आज अन्तिम दिन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिममा सभामुख चयन गर्ने आज अन्तिम दिन


२ माघ २०७९, सोमबार


धनगढी । सुदूरपश्चिममा सभामुख र उपसभामुख चयनका लागि संविधानले दिएको समय सीमा आज सकिंदैछ तर अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकेको छैन ।

प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेका हुन् ।

सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाएको छैन । सभामुख चयनका लागि आज बिहान ९ बजे पुनः प्रदेश सभाको बैठक बोलाइएको छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अहिले बिहानै सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार बैठकमा सभामुख र उपसभामुख चयनका विषयमा छलफल गरेर प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी छ ।

सभामुख चयनका लागि २८ पुसमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका भीम भण्डारीले २६ र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए । सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

३० पुसमा भएको पुनः मतदानमा भने दुवै उम्मेदवारले २२/२२ मत पाएका थिए । सत्तारुढ गठबन्धनको निणरयक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा ३० गते पनि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेको अवस्थामा सोमबारको मतदानले पनि सभामुख चयन गर्न सक्ने छैन । तर उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिइने जानकारी दिए ।

संविधानको धारा १८२ को उपधारा (१) अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । सो अनुसार सभामुख चयन गरिसक्नुपर्ने समय आज सकिंदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस