स्रोत नखुलेको साढे १२ लाखसहित पाँच जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्रोत नखुलेको साढे १२ लाखसहित पाँच जना पक्राउ


१ माघ २०७९, आइतबार


काठमाडौँ । सर्लाही प्रहरीले स्रोत नखुलेको रकमसहित पाँच जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ। एकै दिन दुई ठाउँबाट स्रोत नखुलेको करिब साढे १२ लाख रुपैयाँसहित सर्लाही प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।

सर्लाही प्रहरीले मलंगवाबाट एक जना भारतीय नागरिक र गोडैताबाट चार जनालाई अवैध रकमसहित नियन्त्रणमा लिएको हो।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका २ स्थित नेपाल विद्युत् प्राधिकरणको अगाडि हुँदै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको भारतको सितामढी जिल्लाको मरिया ग्राम पञ्चायत ३ तिलहंगीका जयलाल महताका करिब १९ वर्षका छोरा राहुल महतोलाई स्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो। महतोबाट दुई लाख नेपाली रुपैयाँ बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।

यसै गरी गोडैता नगरपालिका १२ लक्ष्मी चोकमा बरहथवाबाट भारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५-च १७९४ नम्बरको स्विफ्ट कार रोकेर चेकजाँच गर्दा करिब साढे दश लाख नेपाली रुपैयाँ बरामद भएको हो। चेकजाँचमा स्रोत नखुलेको १० लाख ४५ हजार नेपाली रुपैयाँ बरामद भएको सर्लाही प्रहरीको भनाइ छ।

रकमसहित कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नगरपालिका ८ का ३२ वर्षीय पहलाद चापागाईँ, बागेश्वरी मनोहरा नगरपालिका २ का २७ वर्षीय सनम बस्नेत, वडा नम्बर ८ का ३६ वर्षीय शिव चापागाईँ तथा ४८ वर्षीय कृष्ण दाहाल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी दिए।

यसै गरी सर्लाही प्रहरीले भारतबाट भन्सार नतिरी अवैध रूपमा नेपाल भित्र्याएका करिब डेढ लाखका सामग्री विभिन्न ठाउँबाट बरामद गरी भन्सार चलान गरेको पनि जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस