तत्काल सरकारमा जान सम्भव छैन : माधव नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तत्काल सरकारमा जान सम्भव छैन : माधव नेपाल


३० पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् ।

शनिबार काठमाडौँमा पार्टीको रौतहट-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताए ।

उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्पष्ट पारे । परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ छ ।

उनले संसद् विघटन गरिन्छ कि भन्ने आशङ्का जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आँट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको बताए ।

सत्ता र पावरले मान्छेलाई घमन्डी बनाउने भएकाले विनम्रतापूर्वक काममा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले सुझाव दिए । अध्यक्ष नेपालले नेता घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरूलाई पनि आउने वातावरण तयार भएको बताए ।

समानुपातिकमा सन्तोषजनक मत नआए पनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएको भन्दै उनले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको बताए । पार्टीलाई सशक्त रूपमा अघि बढाउनका लागि जतनमाझ जान उनले कार्यकर्तालाई निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस