नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गरिने  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गरिने 


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षका लागि नदीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरण आफैले गर्ने भएको छ । उपमहानगरको कार्यपालिका बैठकले कार्यविधि बनाएर कर्मचारीहरूको माध्यमबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन तथा बिक्री वितरण स्वयंले गर्ने निर्णय गरेको हो ।

नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीका लागि उपप्रमुख भोलाप्रसाद अधिकारीको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन भएको छ । सो कार्यदलले १५ दिनभित्र रायसुझाव सहितको प्रतिवेदन कार्यपालिकामा पेस गर्नेछ ।

उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष ईश्वर केसीले उपमहानगर आफैले कार्यविधि बनाएर त्यसको आधारमा गिटी, ढुङ्गा, बालुवा उत्खनन तथा घाटगद्दी (थुपार्ने) गरेर बेचबिखन गर्ने निर्णय भएको बताए । 

बाराको १६ वटा पालिकामध्ये उत्तरतर्फ रहेका जीतपुर सिमरा, कोहल्वी र निजगढ नगरपालिकाले मात्रै बर्सेनि खोलाजन्य पदार्थको ठेक्का लगाउने गर्दछन् । जीतपुर सिमरा उपमहानगरले मात्रै बर्सेनि १२ देखि १५ करोडमा ९४ लाख घनफिट ढुङ्गा, गिटी, बालुवा उत्खननका लागि दुधौरा, बालगंगा र पसाहा खोलाको ठेक्का लगाउने गर्दछ । उपमहानगरका प्रवक्ता केसीले अहिलेको निर्णय अनुसार कार्यविधि बनाएर खोला उत्खनन गर्न थप १ महिना लाग्ने बताए ।

विगतमा उपमहानगरका कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा खोलाबाट तोकिएको मात्राभन्दा दोब्बर÷तेब्बर गिटी, ढुङ्गा, बालुवा उत्खनन हुने गरेको भन्दै जिल्ला समन्वय समितिले पटक-पटक उत्खनन बन्द गराउने र खोल्ने गर्दथ्यो । उपमहानगरले जथाभाबी ठेक्का लगाउँदा ठेक्का बापतको २ वर्ष पुरानो ६ करोड राजस्व हालसम्म उठाउन सकेको छैन भने राजस्व हिनामिना आरोपमा पूर्व प्रशासकीय प्रमुख शिवराज सेढाईसहित ३ जना ठेकेदार विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस