नेविसंघ र तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेविसंघ र तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले नेपाल विद्यार्थी सङ्घ र तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी सुरु गरेको छ ।

सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले नेविसंघ र तरुण दलका अध्यक्षलाई छलफलका लागि डाकेका थिए ।

देउवा निवास धुम्बाराहीमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङले पूर्ण कार्यसमितिका लागि पार्टी छलफल गरेका हुन् ।

सभापति देउवा र महामन्त्री थापासँग तरुण दलको केन्द्रीय समिति गठन बारेमा छलफल भएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

तरुण दलका अध्यक्ष गुरुङ अघि नेताहरूलाई भेट्न नेविसंघका अध्यक्ष शेर्पा धुम्बाराही पुगेका थिए । देउवा एक साताभित्र सङ्घको पूर्ण कार्यसमिति ल्याउन शेर्पालाई निर्देशन दिएका छन् । तदर्थ समितिलाई पूर्णता दिने क्रममा काँग्रेसले पदाधिकारी विहीन कार्यसमिति ल्याउने तयारी गरेको छ ।

भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय केन्द्रीय समितिले दुई पटक गरिसकेको छ । गत फागुनमा १० भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भङ्ग गरिएको थियो ।

यसबीचमा पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै देउवाले मनोनीत गरेका छन् ।

नेविसंघमा शेर्पा, तरुण दलमा गुरुङ, किसान संघमा गणेश तिमिल्सिना, महिला संघमा उषा राउत र आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीमगर अध्यक्षमा मनोनीत भएका छन् ।

प्रजातन्त्र सेनानी सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ, ठाकुर समाज, भूतपूर्व सैनिक सङ्घ लगायतको मूल नेतृत्व समेत मनोनीत गरिएको छैन ।

पार्टी केन्द्रीय समितिले सबै तहको निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । केन्द्रीय समिति भङ्ग भएको १० महिना पछि दुई भ्रातृ संस्थाको पूर्णता दिने पार्टीले तयारी गरेको छ । नेविसंघ र तरुण दल पार्टीका प्रमुख भ्रातृ संस्था हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस