१० वर्षमा एक हजारको मिर्गौला प्रत्यारोपण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१० वर्षमा एक हजारको मिर्गौला प्रत्यारोपण


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ। केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।

गोरखापत्र दैनिकमा सरोज ढुंगेलको समाचार छ, धर्मभक्त प्रत्यारोपण केन्द्रमा पहिलो पटक २०६९ माघ ६ गते मिर्गौला प्रत्यारोपण भएको थियो । केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले सुरुमा प्रत्यारोपण गराउन बिरामी पाउनै मुस्किल रहेकोमा हाल ३०० बिरामी प्रत्यारोपणको पालो पर्खाइमा रहेको जानकारी दिए।

उनले केही वर्षयता औसत वार्षिक २०० जनाको दरले प्रत्यारोपण हुन थालेको जानकारी दिए। नेपालमा आफ्नो नेतृत्वमा एक हजार ४८ जनाको मिर्गौला प्रत्यारोपण गरेको उनले बताए। डा. श्रेष्ठको नेतृत्वमा धर्मभक्त प्रत्यारोपण केन्द्र, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।

डा. श्रेष्ठका अनुसार नेपालमा बर्सेनी करिब तीन हजार जनाको मिर्गौला काम नलाग्ने हुने गरेको छ । उनीहरूमध्ये धेरैको मिर्गौला प्रत्यारोपण हुन नसकेर मृत्यु हुन्छ।उनका अनुसार भक्तपुर अस्पतालका लागि निर्माण भएको १०० शय्याको भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको थियो । स्थान अभावबीच पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण, दैनिक चार जनाको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको उनले बताए।

गत १० वर्षको अवधिमा एक हजारको प्रत्यारोपण गरिएकोमा ९९ प्रतिशत सफलता मिलेको छ । प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न सकिने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस