ओली र नेपालसँग जापानी टोलीको भेटघाट  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओली र नेपालसँग जापानी टोलीको भेटघाट 


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री तैरा मासाकीसहितको टोलीले नेपालका पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गरेको छ ।

नेपाल-जापान सम्बन्धलाई अझै दरिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको यो टोलीले बिहीबार दुई जना पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा माधवकुमार नेपालसँग भेट गरी छलफल गरेको हो ।

यो जापानी टोली गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष तथा टिविआइ पब्लिकेसन्स्का अध्यक्ष भवन भट्टको निमन्त्रणमा आएको हो । 

ओली निवास बालकोट र एकीकृत समाजवादी पार्टीको कार्यालयमा बिहीबार भएका छुट्टा छुट्टै भेटमा सांसद तथा पूर्व राज्यमन्त्री मासाकीले दुई मुलुकबीच आर्थिक साझेदारी सहितको सम्बन्धलाई झनै बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै उनले नेपालमा पर्यटन, जलस्रोतलगायतका क्षेत्रको विकासका लागि लगानी गर्ने उच्च सम्भावना रहेको आफूले पाएको पनि त्यस अवसरमा बताएका थिए ।

पछिल्ला वर्षहरूमा जापानमा जनसङ्ख्या वृद्धिदर घटिरहेको बताउँदै जापानी प्रतिनिधि सभाका सांसद मासाकीले जापानमा दक्ष जनशक्तिको माग रहेको जानकारी दिए ।

मासाकीले जापानमा नेपाली कामदार र दक्ष जनशक्ति भित्राउन आफूले संसदमा आवाज उठाउने प्रतिबद्धता पनि त्यस अवसरमा व्यक्त गरेका थिए ।

सत्ता गठबन्धनको सबैभन्दा बलियो साझेदार नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले आफू जापान जाँदा त्यहाँ देखेको विकास, समृद्धि र संस्कृतिका बारेमा स्मरण गराएका थिए । 

अध्यक्ष ओलीले नेपालको कृषि, जलस्रोत, पर्यटनलगायत पूर्वाधार विकासका लागि जापानले धेरै सहयोग गरेको भन्दै सराहना प्रकट गरेका थिए । 

अध्यक्ष ओलीले नेपाल अहिले विकास र समृद्धिको बाटोमा लागेको र यसका लागि धेरै वित्तीय स्रोतको आवश्यकता पर्ने हुँदा विगतमा जस्तै आगामी दिनमा पनि जापानले सहयोग जारी राख्नेमा आफू आसावादी भएको बताए ।

यस्तै अर्का पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले नवीनतम प्रविधि र सीपका लागि जापान संसारमा नै सबैभन्दा माथि रहेको भन्दै यस्तो प्रविधि र सीप नेपालमा भित्राउन सहयोग गर्न जोड दिए । अध्यक्ष नेपालले दुई मुलुकबीचको राजनैतिक, सामाजिक र आर्थिक सम्बन्ध धेरै पुरानो र मजबुत रहेको भन्दै आगामी दिनमा पनि यसलाई कायम राख्न यस्ता भेटघाट महत्त्वपूर्ण हुने बताए ।

दुवै भेटका अवसरमा पब्लिकेसन्सका अध्यक्ष भट्टले नेपाल र जापानको ऐतिहासिक सम्बन्ध, यसबाट दुवै मुलुकले पाइरहेको सहयोगलगायतका विषयमा जानकारी गराएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस