जनशक्ति नहुँदा दूतावासको कार्यसम्पादनमा समस्या : सचिव पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जनशक्ति नहुँदा दूतावासको कार्यसम्पादनमा समस्या : सचिव पौडेल


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरू गर्नै अप्ठ्यारो भएको गुनासो आइरहेको बताएको छन् । 

बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले विदेशस्थित नेपाली दूतावासहरू नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधान गर्नमै समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा आर्थिक आयामका बारेमा काम गर्न नसकिने अवस्था रहेको बताए । उनले विदेशस्थित नेपाली दूतावासहरू सानो क्षमताका भएकाले क्षमताको विकास गरी आगामी दिनमा संरचनाहरूको सुधार हुन जरुरी रहेको बताए ।

उनले नेपालजस्तै रोजगारीका लागि आफ्ना नागरिक विदेश पठाउने देशहरूको समेत दूतावासको क्षमता बढी रहेको बताए । उनले नेपालभित्र नै रोजगारीको अवस्था सिर्जना गर्न सक्नुपर्ने बताए। उनले नेपालभित्रै लगानीको वातावरण बनाउने, लगानीमैत्री वातावरण बनाएको खण्डमा मात्रै नेपालले आर्थिक विकास गर्न सफल हुने बताए । उनले उत्पादन नगरेसम्म निर्यात गर्न नसकिने भन्दै नेपालमा गुणस्तरीय उत्पादन गर्ने परिस्थितिको सिर्जना गर्न राज्यले सक्नुपर्ने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस