नेपालगञ्जमा दुई दिन सार्वजनिक बिदा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालगञ्जमा दुई दिन सार्वजनिक बिदा


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । बाँकेमा पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादुरा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुराकै कारण ३१ महिने बच्चाको मृत्यु भएको छ । नेपालगञ्जका ११३ र खजुराका २ जना गरी ११५ जनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुरा भएकामध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ भने ५८ जनालाई होम आइसोलेसनमा राखिएको छ । अस्पताल र होम आइसोलेसनमा राखिएकासहित ६२ जना उपचाररत रहेको खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।

दादुराका बिरामी बढ्न थालेपछि खोप अभियान सञ्चालन गरिएको छ । आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म १५ वटा खोप केन्द्रमा खोप अभियान सञ्चालन गरिएको खोप सुपरभाइजर श्रेष्ठले बताए । उनका अनुसार ८ वटा वडामा खोप कार्यक्रम सञ्चालन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका १, ४, ५, ८, ११, १४ र १५ नम्बर वडामा दुई दुई वटा खोप केन्द्र सञ्चालन गरिएको छ भने ७ मा एउटा खोप केन्द्र सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । पुस २२ गतेदेखि २७ गतेसम्म ७ हजार १६३ जनाले खोप लिएका छन् । जिल्लामा ७ हजार मात्रा दादुरा-रुबेला खोप भण्डार रहेको सुपरभाइजर श्रेष्ठले बताए ।

यस्तै आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट ३० हजार मात्रा दादुरा डुबेला खोप आइपुग्ने उनले बताए । उता नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा तथा डुबेला रोगको महामारी फैलन सक्ने सम्भावना देखिएको भन्दै दुई दिनका लागि सार्वजनिक बिदा घोषणा गरेको छ । पुस २८ र २९ गते उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयहरूमा पूर्व निर्धारित परीक्षालाई असर नपर्ने गरी सूचना प्रकाशित गरिएको उपसचिव गोर्खबहादुर थापाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस