शीतलहरबाट महोत्तरीको जनजीवन प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शीतलहरबाट महोत्तरीको जनजीवन प्रभावित


२८ पुस २०७९, बिहिबार


जलेश्वर । दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् ।

दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन् । बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् । बारी र खेतमा लगाइएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको किसानले बताएका छन् ।

चिसोकै कारण जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ । यातायातका साधन न्यून रूपमा चल्न थालेका छन् । बजारमा बाक्लो ऊनी कपडाको बिक्री भने ह्वात्तै बढेको व्यापारीले बताएका छन् । चिसोकै कारण हाट बजारमा किनमेल गर्न आउनेको सङ्ख्या घटेको छ ।

चिसोकै कारण जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढेको चिकित्सक बताउँछन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खर पातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन् ।

जाडोबाट जोगाउन १५वटै पालिकाले गाउँ बस्तीमा सर्वसाधारणलाई ताप्नका लागि ठाउँठाउँमा दाउराको व्यवस्था गरेका छन् । जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणले गरिब दलित बस्तीमा दाउरा बाल्ने, तातो पानी र चिया दिने काम गरिरहेको छ । जिल्लाभर तीन सय २३ विद्यालयको पठनपाठन पनि बन्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस